विराटनगर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताए ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिए । महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएकाले अनियमितता र भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।
उनले सरकारी सेवा सुविधा कम भयो भनेर गैरकानूनी काम गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रष्ट पारे । महान्यायाधिवक्ता खरेलले सरकारले प्रदान गरेको सेवा सुविधाप्रति असन्तुष्टि भए माग गर्ने बाटो रहेको बताउँदै अनियमितता गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुुने छैन भने ।