दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस तनहुँले आज आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य जोशीले पार्टीलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । कांग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले पार्टीभित्रको बेमेल व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
पूर्वकेन्द्रीय सदस्य अमरराज कैनीले पार्टीलाई एकढिक्का बनाउने हो भने मेलमिलाप आवश्यक छ भने । पूर्वजिल्ला सभापति धु्रव वाग्लेले आफ्ना प्रतिबद्धता पूरा नगरेकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको बताए ।
राष्ट्रियसभा सदस्य प्रकाश पन्थी, प्रदेशसभा सदस्य सरिता गुरुङ, कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र पोख्रेललगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।