काठमाडौँ । नेपाल युवा संस्था संजाल(आयोन) र संसद सहयोग परियोजना, युएनडिपी, नेपालको संयुक्त आयोजनामा आजबाट धनगढीमा ३ दिने ‘सचेत युवा उत्तरदायी संसद’ कार्यक्रम सुरु भएको छ ।
संघीय संरचनाको कानुन निर्माण प्रकृयामा युवाहरुको सहभागिता प्रवद्र्धन गर्ने र युवा मैत्री कानून निर्माणमा जोड दिने मुख्य उदेश्यका साथ यो कार्यक्रमको सुरुवात गरिएको हो ।
यसपटकको कार्यक्रम अन्तर्गत नेपालको संघीय संरचना, संवैधानिक व्यवस्थाहरु, युवा अधिकार, नेतृत्व विकास, पैरवी तथा सिप विकास, जवाफदेहिताका र युवाहरुका विविध सरोकारका बिषयहरुमा उनीहरुको क्षमता विकास गर्ने उद्देश्य राखिएको छ ।
तालिमले युवाहरुका लागि आफ्ना विचारहरु राख्न, त्यसका सम्वन्धमा छलफल गर्न र छलफलका आधारमा विभिन्न तहका सरकारहरुसँग युवाहरुका सवालहरुको सम्वोधनका लागि छलफल, सहकार्य र आवश्यक पैरवी गर्नका लागि ज्ञान र सिप अभिवृद्धि गर्ने छ । यो तालिममा सहभागी भएपश्चात सहभागी युवाहरु विशेषगरी प्रदेश र स्थानीय तहमा दिगो विकास लक्ष्यहरु, युवासँग सम्बन्धित सवालहरु र कानुन निर्माण प्रकृयामा आवश्यक नीतिगत पैरवीका लागि कार्ययोजना बनाउन र संयुक्त रुपमा कार्य गर्न सक्षम हुनेछन् भन्ने विश्वास गरिएको छ ।
यसपटक युथ फेलो कार्यक्रम अन्र्तगत ३० जना युवाहरुको सहभागीता रहेको छ । सहभागी सबै युवाहरु सुदुरपश्चिम प्रदेशका १८ देखी ३५ बर्ष समूहका रहेका छन् । उनीहरुको छनौट समावेशी ढंगबाट विविध वर्ग, अल्पसंख्यक, दलित जनजाति, महिला आदि सुनिश्चित हुने गरी गरिएको छ ।