काठमाडौं । यौन दुर्व्यहारको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ ९२० बमोजिम उपसभामुखको आदेश अनुसार महराको राजीनामा बारेको जानकारी सूचनापत्रमा प्रकाशन गरिएको हो।
प्रतिनिधिसभा सचिवालय सचिव डा.भरतराज पौडेलले सूचना प्रकाशित गरी राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन्।
महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा बुझाएका थिए।
‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ महराको राजीनामापत्रमा भनिएको छ।
तर, सूचनापत्रमा भने ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागिु भन्ने वाक्यांश हटाइएको छ। मंगलबार राजीनामा पत्र सार्वजनिक भएसँगै यो वाक्यांश विवादित भएको थियो।