काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले २९ लाख रुपैयाँ भन्दा बढी रकमसहित ६ हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
चाडपर्वको अवसरमा अवैध वित्तिय कारोबार हुण्डी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोली २९ लाखसहित मानिसहरु पक्राउ गरेको पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
पर्सा प्रहरीले कात्तिक ४ गते वीरगञ्ज महानगरपालिका रजतजयन्तीबाट ५ लाख ८३ हजार ५ सय ६० रुपैयाँसहित भारतको मोतिहारीका ४८ वर्षीय कृष्णमोहन कलवारलाई पक्राउ गरेको थियो। वीरगञ्ज बस्दै आएका कलवारको साथबाट उक्त रकमसहित प्रहरीले सुनको जस्तो देखिने २ थान सिक्का, चेकबुक, भौचर बरामद गरेको छ।
त्यस्तै बिहीबार रजतजयन्तीबाटै हुण्डी गर्न लागिएको १० लाख रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बाराको प्रसौनी–२ का वीरेन्द्र साहको साथबाट २ लाख ५० हजार, बारा दौरुवाटोलका शनि जैसवालको साथबाट २ लाख ५० हजार र भारतको रामगढवाको साथबाट १० लाख रुपैयाँ बरामद गरेको छ।
शुक्रबार बिहान वीरगञ्ज शंकराचार्य गेट अगाडिबाट हुण्डी गर्न लागिएको ९ लाख रुपैयाँसहित भारत बिहारका गोपालप्रसाद अग्रवाल पक्राउ परेका छन्।
यता वीगञ्ज–१४ बाट मन्टु कुमार साह कानु पनि हुण्डी गर्न लागिएको ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन्।
पक्राउ परेका ६ जनाबाट २९ लाख ३३ हजार ५ सय ६० रुपैयाँ बरामद भएको छ। पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।