काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काँग्रेस उप सभापति एवं संसदीय दलका उप नेता विजयकुमार गच्छदारसँग बयान लिएको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारेको विषयमा अनुसन्धान गरिरहेको आयोगले गच्छदार भौतिक योजना तथा निर्माण मन्त्रीको हैसियतले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने क्रममा ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा तानिएपछि बयान लिएको हो ।
बयानका क्रममा प्रधानमन्त्री निवास विस्तारका क्रममा आफूले मन्त्रिपरिषद् लगेको सैद्धान्तिक प्रस्तावमा बदनियत नभएको बताइएको अख्तियार स्रोतले बताएको छ ।
२०६६ साल चैत २९ गते मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नं।३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषयलाई मुख्य रूपमा उठाएको प्रस्ताव तयार पार्नेमा भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव तथा आयोगको पूर्व प्रमुख आयुक्त दीप बस्न्यात थिए भने त्यसलाई उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले स्वीकृत गरेका थिए । प्रमुख आयुक्त बस्न्यातको यसअघि नै अख्तियारले बयान लिइसकेको छ ।







