काठमाडौँ । राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपालको तथ्यांकीय प्रणालीमा केन्द्रीय तथ्याङ्क विभागको महत्त्वपूर्ण स्थान रहेको बताएका छन् । केन्द्रीय तथ्याङ्क विभाग स्थापनाको ६२ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कँडेलले सो धारणा राखेका हुन् ।
विभिन्न निकायहरुद्धारा उत्पादन गरिएका तथ्याङ्कहरू पनि विभागले प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने र हाल कायम विभिन्न तहका सरकारको नीति, योजना तथा अनुगमनका लागि अवश्यक तथ्यांकको उपलब्धता विभागले गराउनुपर्ने बताएका छन् ।
राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले तथ्याङ्क विभागले धेरै महत्त्वपूर्ण कार्यहरू गरे पनि सम्बन्धित निकायसम्म पैरवी हुन नसकेको, तथ्याङ्क ऐन संशोधनको अन्तिम चरणमा रहेको, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको विस्तार अपरिहार्य रहेको बताएका छन् ।
‘जनता, मुलुक, विकास निर्माणका लागि ७६१ वटै सरकारका लागि आवश्यक तथ्याङ्कको उपलब्ध गराउने विभागको प्रमुख कर्तव्य रहेको छ’, सचिव अर्यालले भने, ‘उपलब्ध तथ्याङ्कहरू प्रयोगकर्ता मैत्री बनाई तथ्याङ्कको प्रयोग बढाउनु पर्छ ।’
उनले राष्ट्रिय जनगणना २०७८ लाई छरितो र प्रविधि मैत्री बनाइ गुणस्तरीय तथ्याङ्क उत्पादन गर्नुपर्ने चुनौती रहेको बताए । उक्त जनगणनाको लागत घटाउन पनि उनले सुझाव दिए ।
कार्यक्रमको समापन गर्दै विभागका महा निर्देशक नेविनलाल श्रेष्ठले समयअनुसार प्रयोगकर्ताको माग पनि परिवर्तन हुने भएकाले बदलिँदो परिस्थिति अनुसार विभिन्न क्षेत्रको तथ्याङ्क उपलब्ध गराउँदै आएको बताए ।
कार्यक्रममा ‘राष्ट्रिय जनगणना २०७८ ः संवृद्धिको आधार’ शीर्षकमा निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण, विभाग तथा अन्तरगतका कर्मचारीहरूबाट २ जना उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरिएको थियो भने निजामती सेवामा रही २५ वर्ष पुरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान समेत गरिएको थियो ।
निबन्ध लेखन प्रतियोगितामा पुरस्कृत हुनेहरूमा प्रथम तीर्थराज चौलागाँई, द्वितीय हुने ऋषिराम सिग्देल र तृतीय जनकबाबु काफ्ले रहेका छन् भने उत्कृष्ट कर्मचारीको रूपमा सम्मान पाउनेहरूमा विभागमा कार्यरत तथ्याङ्क अधिकृत प्रकाश पोखरेल र तथ्याङ्क कार्यालय स्याङ्जाका तथ्याङ्क सहायक नवराज पोखरेल रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोग, विभागका पूर्व महा निर्देशक तथा विभिन्न निकायहरूमा कार्यरत तथ्याङ्क शास्त्रीहरू गरी करिब १०० जनाको उपस्थिति रहेको थियो ।
जनतालाई अधिक मात्रामा ठोस हित हुने नीति निर्धारण गर्न, सरकारी विभागहरूको प्रशासकीय नि पूर्णता बढाउन, मुलुकको आर्थिक गतिविधिबारे यथार्थ ज्ञान प्राप्त गर्न सरकारलाई यथार्थ आधार चाहिने र त्यस्तो आधार जुटाउन तथ्याङ्क सम्बन्धी कामको निमित्त एक केन्द्रीय विभागको स्थापनाको आवश्यकता देखि साबिक रहेको सङ्ख्या विभाग खारेज गरी सरकारले २०१५ पौष १७ गतेका दिनदेखि तत्कालीन अर्थ मन्त्रालय अन्तर्गत रहने गरी केन्द्रीय तथ्याङ्क विभागको स्थापना गरेका थियो ।







