काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतल निवास पुगेका छन्। कोरोना भाइरस(कोभिड–१९) तीव्र रूपमा बढी रहँदा सेना परिचालनको प्रस्ताव लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली सोमबार शीतल निवास पुगेका हुन्।
सेना परिचालन गर्दा सरकारको प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने संविधानमा उल्लेख छ।
विदेशबाट आएकालाई व्यवस्थित गर्न र जोखिम बढी भएका ठाउँमा सेना परिचालन गर्ने प्रस्ताव लिएर राष्ट्रपति कहाँ गएको बालुवाटार स्रोतले जनाएको छ ।
जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको थियो।
संविधानको धारा २६७ (४)मा नेपाल सरकारले नेपाली सेनालाई सङ्घीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमासमेत परिचालन गर्न सकिने उल्लेख छ । सेना परिचालन गर्न मन्त्रिपरिषदबाट पठाएर राष्ट्रपतिले अनुमोदन गरेपछि सेना परिचालन गर्न सकिने छ।
राष्ट्रपति, प्रधानमन्त्री र चार वटै सुरक्षा निकायका प्रमखुहरुबीच छलफल भइरहेको छ।