काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वर्षभरि गरेका मुख्य मुख्य कामको समीक्षा गरेको छ ।
तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको समुपस्थितिमा आयोजित कार्यक्रममा वर्षभरिमा सम्पन्न गरेका र आगामी आर्थिक वर्षमा गरिने प्रमुख कामहरूको बारेमा छलफल तथा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा प्रशासन तथा योजना शाखाका निर्देशक रविन्द्र आचार्यले आर्थिक वर्ष २०७६/७७ मा सम्भव भएका १२ मुख्य कार्यहरू र आगामी आर्थिक वर्षमा गरिने प्रमुख १२ कामहरूको सूचि प्रस्तुत गरेका थिए । विभागले अन्य कार्यका अलावा वर्षभरिमा १८७१ वटा व्यावसायिक फर्महरूको अनुगमन गरी ३ करोड ४७ लाख ३३ हजार पाँच सय जरिवाना गरेको थियो ।
अभिलेखालय भवन निर्माण, डब्लूटिओ रिफरेन्स सेन्टरको नाममा विभागको परिसरमा रहेको पुस्तकालयको मर्मतसंभारसहित पुनः सञ्चालन, हार्डवेयरहरूको सुरक्षाप्रवन्धसहितको व्यवस्थापन सम्बन्धमा सचिव लगायतको टिमले स्थलगत अवलोकन गरेको थियो भने ‘स्वच्छ बजार’ नामक स्मारिका विमोचनको साथै विभागबाट सरुवा र अवकाश भएर जाने ५ जना कर्मचारीहरूको बिदाइ गरिएको थियो ।
विभागका महानिर्देशक नेत्र सुवेदी ‘प्रयास’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्त्रालयका प्रवक्ता एवं आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख सहसचिव प्रकाश दाहाल एवं उपभोक्ता हित संरक्षणका सद्भावना दूत हास्य कलाकार किरण के सी कोसमेत उपस्थिति रहेको थियो ।







