१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउ हौ क्या ?

अ अ+ अ-

२०५२ सालको मंसिरदेखि सुदूरपश्चिमको अछाम जिल्लामा आधा दशकभन्दा बढी कर्मभूमि बन्यो । सामाजिक रुढीवादी परम्पराले जरो गाडेको ठाउँ । अनि अनेक समस्याहरू झेल्नु पर्ने । जहाँ लैङ्गिकताको आधारमा गरिने भेदभावको कुनै सीमा नै थिएन । हरेक दिन बिहानै उठेर शौच गर्न जङ्गलको छेउछाउमा जानु पर्थ्यो। पानी लिन धारा गाउँबाट टाढा जानु पर्थ्यो। घरबाट अलि परै हुने धारामा बिहानी पख महिलाहरूको भिडभाड हुनु अस्वाभाविक हैन पनि । महिलाको सम्बन्ध कि गाढा हुन्छ । प्रायः जसो गाउँनजिकै रहेका ठाउँहरूमा धारा तीन वटा हुन्थे । छाउ (महिनावारी) भएकाहरूका लागि, एउटा दलितहरूको लागि र एउटा ठुला जात भनिनेहरूका लागि । सबै ठाउँमा चाहिँ सम्भावना नभएर होला एउटा मात्रै पनि हुन्थ्यो ।

हरेक दिन धारामा आउने जाने महिलाहरूलाई एउटै प्रश्नको जवाफ दिँदा दिँदा वाक्क लाग्थ्यो । धारोमा पालो कुर्नु पर्ने त छँदै छ, त्यो भन्दा दिक्क लाग्दो छाउ हौ क्या ? प्रश्नको जवाफ हरेक व्यक्तिलाई दिनुपर्दा एक किसिमको मानसिक पीडा नै हुन्थ्यौ ।

एका बिहानै धारामा मेरो पालो आएपछि मुख धुन धारा नजिकै सर्छु । मलाई छोइन्छ कि भन्ने डरले अलगै बसेर अधबैँसे दिदीले सोधिन्– ‘छाउ हौ क्या ?’ अलमलमा पर्छु शब्दको अर्थ नबुझेर । राधाले हत्त न पत्त जवाफ दिन्छिन् – ‘नाइँ नाइँ पानी थाप् ।’ तिनी महिला तामाको गाग्रीमा पानी भरेर डोकोमा हाली आफ्नो बाटो लाग्छिन् । कुरा नबुझी आफ्नै सुरमा हातमुख धोइ खुट्टा पखाल्दै थिएँ । अर्को दिदी आएर फेरी म तिर हेरेर सोध्छिन्, ‘छाउ हौ क्या ?’ राधाले फेरी नाइँ नाइँ भनिन् । उनी पनि हत न पत्त पानी भरेर गइन । म पानी भर्न जर्किन तान्दै थिए । अर्को दिदी आएर अलगै उभ्भिएर सोधिन–‘छाउ हौ क्या ?’ मैले त ठुलै अपराध गरेँ जस्तो गरी जति जना धारामा आउँछन् उति जनाले सोधिरहन्छन् ।

एक दिनमा कम्तीमा सातदेखि दश जनालाई दुई घण्टा भित्र जवाफ दिनु पर्ने । एक दिन हैन, हरेक दिन धारामा छाउ हैन भनेर जवाफ दिइरहनु पर्ने कस्तो विडम्बना ? यो प्रश्नको जवाफ दिनु पर्दाको दिगदारीले आफू मानसिक तनाव मा त थिएँ नै त्यो भन्दा बढी तनाव महिलाको जीवनशैलीप्रति खेपिरहेकी थिएँ ।

म हरेक दिन बिहान धारामा कसैसँग नबोली पानी भरेर निस्कन्थेँ । महिनावारी हुँदा ठुलै अपराध गरेको जस्तो सामाजिक परम्पराले महिलाहरूको प्राकृतिक अस्तित्वलाई नै भुलेको छ । महिनावारी रोकिया भने सारा सृष्टि नै रोकिन्छ भन्ने कुराको ज्ञान जबसम्म समाजमा हुँदैन तबसम्म महिलाहरू अपवित्र हुन्छन् । महिलाहरू अपवित्र भइरहे समाज पनि एक खुट्टाले मात्रै चलिरहनु पर्छ । एक खुट्टाले चल्नेलाई दुई खुट्टाले उछट्नु कुनै नौलो विषय हुँदैन ।

हुन त सबै ठाउँमा छोइ छिटोको चलन नभएको हैन तर सुदूरपश्चिमको अछाममा नारकीय जीवन नै बिताएको सम्झनाले आज पनि सताई रहन्छ । महिनाको सात दिनसम्म टुसुक्क बस्न नमिल्ने सिधै गएर सुत्न मात्रै मिल्ने लिपपोत गरी चिटिक्क पारेको सानो घरबाट अलगै छाउगोठमा बस्ने परम्परा महिला र किशोरीहरूको लागि सामान्य कुरा थियो ।

महिनावारी थाहा पाए भने त्यहीँ गोठमा राख्लान् भन्ने डरले महिनावारी भएको बेलामा फिल्डमा जाँदै नगएर बसेका नमिठो सम्झना मानसपटलबाट हटाउन अझै पनि सक्दिन । महिलाहरूले महिनावारी भएको बेलामा बाहिरको काम गर्न हुने घाँस काट्न हुने भारी बोक्न हुने तर भात खान नदिने, दूध खान नदिने घरभित्र बस्न नदिने धारा नै अलग गर्नु पर्ने चलन झेल्दै आएका सुदूरपश्चिमका दिदिबहिनीहरुलाई परिवर्तन गराउन पनि सारै कठिन काम थियो । म भन्दा पहिलेदेखि नै त्यो ठाउँमा काम गर्ने साथीहरूलाई बानी परिसकेको थियो । तर मलाई भने असहज भयो ।

पुरै समुदायका महिला पुरुष दुवैको दिमागमा मानौँ महिला समाज, घरपरिवारमा नै हानी पुराउने चिज हो । छाउ हुँदा छोइयो भने भैँसी रुख चढ्छ, घरमा आगो लाग्छ, बाघ आउँछ । देउता रिसाउँछन् यस्ता कुराले महिलाको मनमा आतङ्क फैलिएकोले गर्दा जस्तोसुकै गारो भए पनि छाउ बार्न, सानो छाउपडी गोठमा सुत्न तयार हुने तर आफू असुरक्षित भएको महसुस नगर्ने बानी परिसकेको छ । उनीहरूलाई । छाउ भएको महिलाहरूलाई छुट्टै, दलितहरूको लागि छुट्टै र अन्य जातिहरूको लागि छुट्टै धारा बनाउने परम्पराले लैङ्गिक विभेद तथा जातीय छुवाछुतको पराकाष्ठा देखाउँछ ।

महिनावारी हुनु भनेको अशुभ हो भन्ने मानसिकताले भरिएको व्यक्तिहरूको समाजले महिलाहरूको मात्रै नभएर सिङ्गो समाजको भविष्य कता लान्छ कुनै निश्चित नहुनु स्वाभाविकै हो । महिनावारी दुधाने ठाउँमा हामीलाई छाउ (महिनावारी) भएको बेलामा दूध दिने कुरै भएन । ओहो ! के हो चलन ? सामान्य बारनाम मात्रै गर्ने परिवारमा जन्मेको म अर्कै दुनियाँमा पुगेको छुँ सायद । डराएरै भए पनि नयाँ जुक्ती ननिकाली दूध खान नपाइने भएपछि हामीले भन्न थाल्यौँ छाउ हुँदैनौ । टेबलेट खाएका छौँ । बिचरा ! टेबलेट खाएपछि छाउ हुँदैन भनेर पताउँने मानसिकताले छाउ बार्दा यति धेरै कष्ट काट्नु पर्ने बाध्यतालाई सजिलै स्वीकार गरेका छन् ।

हरेक नकारात्मक कुरालाई सहज रूपमा लिने हाम्रो सामाजिक मूल्य मान्यताले नकारात्मक कुराको जरो सयौँ वर्षसम्म पनि उखेल्न नसक्ने गरी गडेको छ । सधैँ भरी ढाँटेर दूध खानु पर्ने बाध्यता भन्दा पनि जे भने पनि पत्याउने र अन्धविश्वासमै रुमलिरहेको समाजको दया लागेर आउँथ्यौ ।

यदि यसो भनिएन भने घरबेटीले हामीलाई छाउपडी गोठमा सुत्न पठाउने डर, धारामा थाहा पाए भने गाउँघरमा केही छुन र हिँडडुल गर्न नपाइने डरले हामी पनि उनीहरूलाई झुकाउन माहिर थियौँ । उनीहरूलाई झुक्क्याउनु भन्दा पनि सामाजिक मूल्य मान्यतासँग विद्रोह गर्न नसक्ने महिलाहरूको चेतनाको स्तर देखेर दुःख लाग्थ्यो । साँच्चै उनीहरूले भनेको कुरा हुन्छ । अभ्यास गर्नै पर्ने थियो ।

हाम्रै कार्यालयमा कार्यालय सहयोगी पुरुष थियो । उसले कार्यालयमा हामीसँग बसेर खाना हैन चियासम्म पनि कहिल्यै खाएन । अफिसमा चिया ल्याएर हामीलाई दिने आफू होटेलै गएर खान्थ्यो । उसले किन यसो गर्छ सोधी खोजी गरेपछि थाहा भयो अफिसमा महिलाहरू मात्र भएकोले कोही न कोही छाउ भएका हुन्छन् छोइन्छ भनेर नखाएको रहेछ ।

अधिकारमा आधारित अधिवाचन गर्ने पेसा व्यावहारिक भोगाइले आफूलाई आफैले धिक्कार्थ्यौँ । सबै कुरा बकवास हुन भन्दा पनि मेरो विचार सधैँ अल्पमतमा पर्थ्यो। आफैलाई प्रश्न गर्न थालेँ के साँच्चै भैँसी रुख चढ्छन् ? के आगो लाग्छ ? साँच्चै बाघ आउँछ ? देवता रिसाएर सबैको सर्वनाश नै हुन्छ ? दूध खाए गाई मरिहाल्छ ? उनीहरूले भनेको यो कुराहरू हुन्छ कि हुँदैन । अभ्यास गर्न साथीहरूसँग सल्लाह गरेँ । अभ्यास गरेर हेरौँ न के हुँदो रहेछ । साथीहरूले पनि हुन्छ भनेँ । पहिलो काम अफिसमा काम गर्ने भाइबाटै सुरु गर्नु पर्‍यो भनेर सल्लाह भयो ।

हामी दुई जना साथी सँगसँगै महिनावारी भएको बेलामा उसलाई छोइएन मात्रै खुट्टाले टाउकोमा नै छोइयो हामीलाई डर नलागेको भने हैन डराई डराई यो उद्दण्ड गर्‍यौँ। अहँ उसलाई केही भएन । केही हुने भए पो हुन्छ । हाम्रो दिमागमा हाउगुजी मात्रै भरेको थियो । अब हाम्रो आत्मबल बढ्यो । यसै गरी फिल्डमा जाँदा पहिलो प्रश्नको जवाफ दिन तयार भएर जानु पर्ने भयो । ‘छाउ भया छौ क्या ?’ अब मेरो हरेक ठाउँमा परीक्षण सुरु भयो गाई भैँसी छुने, भान्सामा छुने, दूधको भाँडोहरू छुने । उनीहरूको कुरा अनुसार छुँदा कता कता डर लाग्थ्यो । तर साँच्चै हो त, छाउ हुँदा अनिष्ट हुने ? यो प्रश्नलाई पछ्याउने भएकोले यी सब गरेर हेर्नु थियो ।

ठुलो लट्टाधारी सेतो पगरी गुथेको धामीलाई पनि छोइयो, खै केही भएन । न कुनै भैँसी गाई रुख चढ्यो । न आगो लाग्यो । न बाघ आयो । भान्सामा पसेर सबै छोएर हेरियो अहँ केही भएन । यी सबै मानसिकतामा आधारित कुप्रथा मात्रै थियो । लैङ्गिकतामा आधारित हिंसा र सामाजिक विभेदले डर लाग्दो जरो गाडेकोले महिलाहरूले सहजरुपमा सास फेर्न नसकेको अनुभवले अझै पिछा छोडेको छैन ।

जीवनको उर्वर समयमा झेलेको प्रश्न ‘छाउ हौ क्या ?’ यो शब्ददेखि भएको एलर्जी कहिल्यै निको भएन । नभए पनि यो प्राकृतिक नियम हो । महिला हुनुको उपहार हो । केही पनि हुँदैन सामान्य कुरा हो भन्ने प्रमाणित आफैँले गरेकोले कसैले पनि कु प्रथाको पछि लाग्नु हुँदैन । कतिले बलात्कारका घट्नाबाट पीडित हुनु परेको छ । कतिको ज्यान सर्पको डसाइबाट गएको छ । शारीरिक कष्ट, मानसिक तनाव झेल्ने क्रम नरोकिए पनि विभिन्न सङ्घ संस्था राज्य सबै लागेर सचेतना गर्ने कार्य, नीति तथा कानुन निर्माणले परिवर्तनको ढोकाहरू सजिलै खुलेको छ ।

सुदूरपश्चिमका महिला तथा किशोरीहरूले छाउपडी प्रथाको ज्यादतीबाट केही मुक्त भई सजिलोसँग बाच्न पाएको अनुभूति गरेको छुँ ।