काठमाडौँ । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्वासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध नागरिक ऐक्यबद्धता तथा विरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्यापारीमाथि गरेको व्यवहारलाई नजरअन्दाज गर्दा आज सुकुम्वासी नागरिकले दुःख पाउने स्थिति सिर्जना भएको बताए । उनले फुटपाथमा व्यापार गरेर गुजारा चलाउनेमाथि गरेको दमनको निरन्तरता नै सुकुम्वासी नागरिकमाथिको व्यवहार भएको तर्क समेत गरे । उनले मुलुकमा भएका प्रत्येक परिवर्तनपछि जनताले धोका पाउँदै आएको उल्लेख गर्दै जेन जेड आन्दोलनपछि युवालाई सत्ता सुम्पिए पनि उनीहरूको कार्यशैलीमाथि नागरिक समाजबाट पर्याप्त निगरानी हुन नसकेको समेत बताए । प्याकुरेलले सुकुम्वासी नागरिक नदी किनार तथा अव्यवस्थित क्षेत्रमा बस्न बाध्य हुनुको कारण खोज्नुपर्ने भन्दै उनीहरूको व्यवस्थापन राज्यको दायित्व भएको बताए ।
उनले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै नागरिकको आवतजावतको अधिकारसँगै बस्न पाउने अधिकारका लागि पनि संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘देशमा धेरै परिवर्तन भएका छन्, तर हरेक चोटीको परिवर्तनपछि हामीले धोका पाएका छौँ । त्यही धोकाको फलस्वरुप त्यत्रो युवाहरूले आन्दोलन गर्नुभयो र हामीले नवयुवाहरूलाई देश सुम्पियौँ । तर त्यो युवाहरूमा के थियो भन्ने कुरा हामीले हेरेनौँ । जतिबेला हामीले बालेनलाई काठमाडौँ महानगरपालिकाको मेयर बनायौँ त्यसको सबभन्दा पहिलो आक्रमणमा फुटपाथमा बसेर सामान बेचेर घरगुजारा चलाउनेहरू परे । हामीले देखेका छौँ, मेयर भनेको जनताको सबभन्दा नजिकको सरकार पनि हो । तर हामीले बालेनको त्यो गतिविधिलाई नजरअन्दाज गर्यौँ । यहाँसम्म भनियो कि साना पसल थापेर फुटपाथ ओगटेर बस्ने होइन आआफ्नो ठाउँ फर्क भनियो । म आफैँ पनि करिब ५० वर्षदेखि मानव अधिकारको बारेमा बोल्दै आइरहेको छु, अहिले पनि सडकमै छुँ । आखिर किन यस्तो भइरहेको छ ? हामी मानव अधिकारकर्मी समेत राइट टू मुभ भनेर धेरै कराउने गरेका छौँ । हामी फ्रिडम अफ मुभमेन्टको कुरा पनि गर्दछौँ । तर यहाँ त राइट टू स्टे भनेर लड्ने बेला आयो । सुकुम्वासी नागरिकहरू शहर आएर नदी किनारामा, फोहोर ठाउँमा किन बस्न बाध्य भए रु त्यसप्रतिको दायित्व कसको हो त ? आज यो सरकार बन्नासाथ सुकुम्वासीमाथि डोजर लगाएर हटाइयो र काठमाडौँलाई सुन्दर बनाइन्छ भनियो । सुकुम्वासीको व्यवस्थापन गर्छौँ भनेर आश्रयस्थलमा राखियो । अहिले आएर खाली गर भनेर उर्दी जारी गर्यो ? कस्तो दायित्वहीन सरकार । त्यसकारण हामी तपाईँ सबैले बुझ्नुपर्यो यो देशमा कानूनको शासन होइन मनपरी शासन चलेको छ ।’
उनले नागरिकको संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यले सुकुम्वासी नागरिकलाई आवास, जीविकोपार्जन र सामाजिक सुरक्षाको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।








