जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत यसबारे घोषणा गरेका हुन् ।
मेजावाले आफूसँग जान चाहने सर्वसाधारणहरुको सम्पूर्ण यात्रा खर्च आफूले ब्यहोरिदिने पनि जानकारी दिएका छन् । यसमा युसाकुसहित यात्रामा सहभागी सबैले चन्द्रमाको पहिलो निजी भ्रमण गर्नेछन् ।
एलन मस्कको कम्पनी ‘स्पेस–एक्स’ को यो मिसन २०२३ का लागि निर्धारित गरिएको हो ।
यसमा आवदेन दिनेहरुसँग दुईवटा योग्यता मात्र हुनुपर्ने भनिएको छ । समाजलाई महान् बनाउन र अरुलाई मद्दत गर्न सो व्यक्ति कुनै न कुनै क्रियाकलापमा लागेको हुनुपर्छ र अर्को क्रु मेम्बरहरुलाई पनि समर्थन गर्न इच्छुक हुनुपर्ने हुन्छ ।
मेजावाले भनेका छन्, ‘मैले सबै सिट किनिसकेको छु, त्यसैले यो सबैका लागि निजी भ्रमण हुनेछ ।’
मेजावा जापानका फेशन मोगुल हुन् । यसअघि पनि उनले चन्द्रमाको पहिलो निजी भ्रमणमा आफूसँग सहभागी हुन कलाकारहरुलाई निम्ता गर्ने बताएका थिए । ‘यदि तपाईँले आफूलाई कलाकार देख्नुहुन्छ भने तपाईँ कलाकार नै हो’ उनले भनेका छन् ।
Get your FREE TICKET to the MOON!!
8 crew members wanted. Sign up today! 🚀🌍🌕 #dearMoon https://t.co/P0vEZ6k8Xg— Yusaku Maezawa (MZ) (@yousuckMZ) March 2, 2021
गत वर्ष युसाकु अर्को कारणले पनि विविश्वभर चर्चामा आएका थिए । त्यसबेला उनले यो भ्रमणमा जान नयाँ केटीसाथीको खोजी गरिरहेको ट्वीट गरेका थिए । तर अन्त्यमा द्विविधापूर्ण भावका कारण योजना रद्द गराएका हुन् ।
२०१८ मा उनी एलन मस्कको स्पेसएक्सबाट चन्द्रमाको निजी भ्रमणमा जाने विश्वकै पहिलो यात्रु घोषित भएका थिए । तर यो सम्पूर्ण यात्राको टिकटमा उनले कति खर्च गर्दैछन् भन्ने चाहिँ खुलासा भएको छैन ।
२०२३ मा यो मिसन पूरा भएमा, १९७२ पछिको चन्द्रमामा पहिलो मानव भ्रमण हुनेछ । बीबीसी