काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले शक्तिशाली बम प्रयोग गर्ने धम्कीमार्फत कूटनीतिक दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकी सैन्य नीति र कूटनीतिक व्यवहारबीच गम्भीर प्रश्न उठाउँदै उनले विश्व शान्ति तथा सुरक्षामा खतरा उत्पन्न भइरहेको बताएका हुन्।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति पेजेस्कियानले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्य देखाएर अमेरिकाले युद्ध सुरु गरेको आरोप लगाए। तर, त्यही अभियानका क्रममा सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा अत्याधुनिक क्षेप्यास्त्र प्रयोग गरिएको उनको भनाइ छ।
उनले इरानको लामेर्द सहरमा अमेरिकाले पहिलो पटक प्रेसिजन स्ट्राइक मिसाइल (पीआरएसएम) प्रयोग गरेको दाबी गरेका छन्। उक्त सहरको खेलकुद भवनमा भएको आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।
राष्ट्रपति पेजेस्कियानले पछिल्लो समय अमेरिकाले इरानका भूमिगत आणविक संरचनामाथि आक्रमण गर्न अत्यन्त शक्तिशाली बम प्रयोग गर्ने सम्भावनाबारे भइरहेको चर्चाको समेत आलोचना गरेका छन्।
उनले विशेष गरी ‘मदर अफ अल बम्स’ भनेर चिनिने शक्तिशाली गैरआणविक बम प्रयोग गर्ने धम्कीलाई कूटनीतिक दबाबको माध्यम बनाइएको आरोप लगाए।
‘उनीहरूले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने भन्दै युद्ध सुरु गरे। त्यसपछि लामेर्दमा पहिलो पटक पीआरएसएम क्षेप्यास्त्र प्रयोग गरे। अहिले शक्तिशाली बमको धम्की दिएर कूटनीति अघि बढाउन खोजिरहेका छन्,’ पेजेस्कियानले एक्समा लेखेका छन्।
अमेरिकी नीतिप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो व्यवहारलाई विरोधाभासभन्दा पनि लज्जास्पद कार्यको संज्ञा दिएका छन्।
‘यो विरोधाभास होइन, बरु लज्जास्पद विषय हो। विश्व शान्ति र सुरक्षालाई वास्तवमा कसले धम्की दिइरहेको छ रु’ उनले प्रश्न गरेका छन्।
अमेरिका र इरानबीच आणविक कार्यक्रम तथा क्षेत्रीय सुरक्षाका विषयमा तनाव कायम रहेका बेला राष्ट्रपति पेजेस्कियानको यस्तो प्रतिक्रिया आएको हो।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ। अमेरिकाले भने इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने अडान राख्दै आएको छ।
पेजेस्कियानको पछिल्लो अभिव्यक्तिले सैन्य शक्ति प्रदर्शन र कूटनीतिक संवादबीचको अमेरिकी दृष्टिकोणप्रति इरानको असन्तुष्टि उजागर गरेको छ।





