काठमाडौँ । नेपालको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या दिन प्रतिदिन वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा पहिलो पटक एक दिनमै एक लाख ७० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
केही दिन यता नयाँ कोरोना भाइरस फैलिने क्रम तीव्र रूपमा बढ्दो रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ । नयाँ कोरोनाभाइरस फैलने क्रम तीव्र रहेकोले यसले नेपालमा पनि प्रभाव पार्ने देखिन्छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार पनि भारतमा एक लाख ६९ हजार ८ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दैनिक एक लाख भन्दा बढी जनामा कोरोना सङ्क्रमण फैलिनु भनेको स्वास्थ्य सङ्कट नै हो ।
आइतबार भारतको महाराष्ट्र राज्यमा ६३ हजार दुई सय ७६ जनामा सङ्क्रमण देखिएको थियो भने नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा १५ हजार दुई सय ७६ जनामा सङ्क्रमण देखिएको थियो ।
आइतबार एकै दिन कोरोना सङ्क्रमणबाट नौ सय जनाको मृत्यु भएको थियो ।
हालसम्म भारतमा कूल एक करोड ३५ लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने बढ्ने क्रम पनि जारी नै छ । यसै गरी भारतभरिमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या एक लाख ७० हजार रहेको छ ।
करिब १० करोड मानिसलाई कोरोना खोप पनि लगाइसकिएको छ ।