काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा परिवर्तन गरेका छन् ।
उनले प्रतिनिधिसभा मातहतका विभिन्न संसदीय समितिमा दलहरूको आग्रहमा सदस्यहरूको परिमार्जन गरेका हुन् ।
आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा सभाममुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयले नेकपा दुई दलमा विभाजित भएपछि सत्तारुढ नेकपा एमालेले संसद्मा दलीय प्रतिनिधित्वका आधारमा समिति पुनर्गठन गर्नुपर्ने माग गरेको थियो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले विभिन्न समितिमा रहने सदस्यहरूको नामावली सभामुखलाई बुझाएका थिए ।
कार्यव्यवस्था परामर्श समितिमा रहेका एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरूलाई हटाएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसदहरूलाई जिम्मेवारी दिइएको हो ।
माओवादी केन्द्रले अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाललाई राज्यव्यवस्था तथा सुशासन समितिबाट कानुन, न्याय तथा मानवअधिकार समितिमा स्थानान्तरण गरिएको छ । राज्यव्यवस्थामै रहेकी सांसद पम्फा भुसाललाई सार्वजनिक लेखा समितिमा पठाइएको छ ।
सभामुखले संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतमा सिफारिस न्यायाधीहरूको सुनुवाई चलिरहेको भएकाले एमालेको सिफारिस अनुसार परिमार्जन नगरेका हुन् । एमाले पनि उक्त विषयमा सहमत भएपछि अन्य समितिमा मात्रै हेरफेर गरिएको हो ।