काठमाडौँ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीभित्रको विवाद समाधान गर्न ८ बुँदे सहमति भएको दिन आज (मंगलबार) महतो संसदीय दलको नेता चयन भएको जानकारी संसद् सचिवालयलाई गरिएको हो ।
संसद् सचिवालयमा दर्ता भएको पत्रमा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको छ । वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले दलको नेतामा महतोलाई निर्वाचित गरेको पत्रमा उललेख छ । ‘२०७८(०१(३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा मा। श्री राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ । संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि यसै पत्र साथ संलग्न गरिएको छ,’ पत्रमा भनिएको छ ।
संसदीय दलको नेतामा एकपक्षीय ढंगले महतोलाई निर्वाचित गरिएको भन्दै अध्यक्ष उपेन्द्र यादव पक्षले भने विरोध जनाएको छ । अध्यक्ष ठाकुरले संसदीय दलको नेता महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले काउन्टरपत्र पठाएका छन् । उनले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताएका छन् ।
कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् । यादवले दलको नेता चयन भनेर सञ्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन भनेका छन् ।