काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताएका छन्।
मंगलबार संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै शर्माले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६ र ७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।
‘आर्थिक वर्ष २०७७ र ७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटामा रहेको देखिएको छ,’ उनले स्वेतपत्रमा भनेका छन् ।
यस्तै शर्माले स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढङ्गले बजेटको आधार वृद्धि हुँदै आएको जनाएका छन् ।
आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन बिथोलिएको शर्माले स्वेतपत्रमा उल्लेख गरेका छन् । साथै उनले यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकका लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको समेत स्वेतपत्रमा उल्लेख गरेका छन् ।
अर्थमन्त्री शर्माले बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको बताएका छन् ।