काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न नगरबासीलाई आह्वान गरेको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन् ।
काठमाडौँको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै मेयर शाक्यले सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो गरे । उनले राम्रो पार्क र करिडोर बनाउने काममा महानगरपालिका प्रतिबद्ध रहेको पनि दोहोर्याए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भुकुटीमण्डपभित्र ठुलो प्रदर्शनी हल बनाउन महानगरपालिकाको ध्यानाकर्षण गराए । उनले त्यसका लागि महानगरपालिकालाई समाज कल्याण परिषद्समक्ष प्रस्ताव लैजान ढिलाइ गर्न नहुने सुझाव दिए । कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको शुभारम्भ गरे ।
झिंगु इच्छुमती पार्क ३७ लाख ७० हजार लागतमा निर्माण भएको थियो ।