काठमाडौँ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-७, पलासेमा माइक्रोबस दुर्घटना हुँदा सवार १४ जना घाइते भएका छन् । तीमध्ये सात जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको जिल्ला प्रहरीले जनाएको छ ।
जनकपुरबाट काठमाडौँ आउँदै गरेको म प्र ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अँधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ ।
काठमाडौँ लगिएका घाइतेमध्ये धनुषाको जनकनन्दिनी गाउँपालिकाकी सीता यादव, उनका १४ वर्षीय छोरा पियुस गोहित, तीन वर्षीय ओम साह, धनुषाको शहीदनगर नगरपालिका–७ का प्रिन्स साह र श्यामबहादुर मण्डल तथा पहिचान खुल्न बाँकी एक पुरुषको अवस्था गम्भीर छ । काठमाडौँ लगिएका जनकनन्दिनी गाउँपालिकाका दीपेन्द्र यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
अन्य सात घाइतेको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका १४ जनामध्ये नौ जनाको विवरण खुलेको छ भने पाँच जनाको विवरण खुल्न बाँकी छ ।





