कर्णाली । बेतन कर्णाली जलविद्युत् आयोजनाले आगामी वर्षदेखि निर्माण अगाडि बढाउने भएको छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन, सम्भाव्यता अध्ययन, पहुँचमार्ग निर्माणलगायतका काम पूरा गरे छ ।
प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले तीन वर्षको अध्ययनपश्चात् आउँदो वर्षदेखि आयोजना निर्माणको चरणमा प्रवेश गर्ने जनाएको छ ।
चार सय ३९ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको विद्युत् गृह, बेस क्याम्पहाउस, हेड टनेल अछामको ढकारी गाउँपालिकाको वडा नं ६, डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिकाको वडा नं ६ तथा बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्दछ । उत्पादित बिजुली प्रसारण लाइनमा जोड्न सुर्खेतको भूम्केमा सबस्टेशन निर्माण गर्ने गरी आयोजनाको ‘डिजाइन’ गरिएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक दीपक रौनियारका अनुसार आयोजनास्थलमा बेसिक क्याम्प हाउस, ढकारीबाट विद्युत् गृहसम्म २१ किमी पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ । कम्पनीले विद्युत् खरिद सम्झौता (पिपिए)का लागि नेपाल विद्युत् प्राधिकरणसँग आवेदन दिएको, वातावरणीय अध्ययन भइरहेको र जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ ।
‘सुर्खेतको चौकुने गाउँपालिकातर्फको पहुँचमार्ग निर्माण भइरहेको छ, पिपिए पनि छिट्टै हुँदै छ’, उनले भने, ‘लगानीको स्रोत पनि जुटाइसकेकाले तोकिएको समयमै निर्माण प्रारम्भ गर्ने तयारीमा छौँ ।’ कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो ।
अछामतर्फको एक हजार ८४४ रोपनी जग्गाको मुआब्जा निर्धारण हुन बाँकी छ भने सुर्खेततर्फ ४५० रोपनी जग्गाको मुआब्जा वितरण कार्य सुरु भइसकेको छ ।
आयोजनाका लागि आवश्यक पर्ने विद्युत् आपूर्ति (कन्स्ट्रक्सन पावर) कम्पनीले कैलालीको सुगरखालबाट करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने तयारी गरेको छ । त्यस्तै तीन मिटर ब्यास र ७० मी लम्बाइका दुई तथा १०० र २०० मी लम्बाइका एक/एक गरी चार वटा अडिट टनेल निर्माण गरिएको छ ।
विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदनअनुसार १७२.७५ मी लम्बाइ र ९० मी उचाइका बाँध (ड्याम) प्रस्ताव गरिएको छ । बाँधमा छ/छ ढोका राखिनेछ । बाँधको पानीलाई दुई किमी लम्बाइ र आठ मी ब्यासका तीन सुरुङबाट विद्युत् उत्पादन गृहसम्म पुर्याइनेछ । बाँधदेखि २.०१५ किमी तल भूमिगत पावर हाउस रहनेछ । पावर हाउसमा ७१.६८ मेगावाटका छ टर्वाइन रहनेछन् । आयोजनाका लागि बाँध निर्माण गर्नु पूर्व कर्णाली नदीलाई ९.८ मिटर ब्यास, ५८४ मी तथा ७२७ मी लम्बाइका दुई डाइभर्सन टनेलबाट मोडिनेछ ।
आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको ७ र अछामको ढकारी गाउँपालिकाको ६, तुर्माखाँद गाउँपालिकाका ३, ४ र ५ वडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । यद्यपि उक्त स्थानमा मानवबस्ती न्यून छ । रु ८८ अर्ब लागतमा निर्माण हुने अनुमान गरिएको आयोजना निर्माण सुरु गरेको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सुरुमा यस आयोजनाको कूल अनुमानित क्षमता ६८८ मेगावाट रहे पनि अन्तिम अध्ययनबाट ४३९ मेगावाट उत्पादन हुने देखिएको हो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २०१७ अक्टोबरदेखि अध्ययन थालेको थियो ।
विस्तृत अध्ययनबाट दैनिक चारदेखि छ घण्टासम्म पिकिङ हुने गरी यस आयोजनाले मुलुकको पिक समयको ऊर्जा मागलाई सम्बोधन गर्ने विश्वास गरिएको छ । अर्धजलाशययुक्त भएकाले विद्युत्को उच्चतम माग हुने समयमा धेरै उपयोग हुने देखिएको कम्पनीको दाबी छ ।
यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख आठ हजार वार्षिक आय हुने अनुमान छ ।
आयोजना निर्माणका लागि कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५, प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १० , आम नेपाली नागरिकको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । यस आयोजनामा गरिएको लगानीबाट सञ्चयकर्ताको अवकाशपछिको जीवनयापनमा सहज हुने कोषको अपेक्षा छ ।







