काठमाडौँ। समाज कल्याण परिषद्को संरचना र कार्यप्रणाली परिवर्तन गर्न गठित समितिले पुनर्संरचनासम्बन्धी प्रतिवेदन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसमक्ष पेस गरेको छ।
राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुंगानाको संयोजकत्वमा गठित समितिले परिषद्को विद्यमान संरचना र काम गर्ने तरिकाको समीक्षा गरी संस्थागत सुधार प्रस्ताव गरेको हो। प्रतिवेदनमा सामाजिक क्षेत्रका कार्यक्रमबीच समन्वय बढाउने तथा परिषद्को कामलाई थप उत्तरदायी र परिणाममुखी बनाउने विषय समेटिएका छन्।
समितिले पुनर्संरचनाका लागि आवश्यक कानुनी व्यवस्थाको प्रारम्भिक मस्यौदा र परिषद्को प्रस्तावित संरचनाको खाका पनि तयार पारेको छ। मन्त्रालयका अनुसार विधेयक तर्जुमा समितिले उक्त मस्यौदा थप अध्ययन र परिमार्जन गर्नेछ। त्यसपछि सरोकारवालाको राय सुझावका लागि सार्वजनिक गरिनेछ।
प्रतिवेदन बुझ्दै मन्त्री बादीले कानुनी र संस्थागत प्रक्रिया अघि बढाउने बताएकी छन्। सरोकारवालाको सुझाव समेटेपछि प्रस्तावित व्यवस्था र संरचनालाई अन्तिम रूप दिने मन्त्रालयको तयारी छ।






