काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साताको मौसम पूर्वानुमान र सम्भावित विपद् जोखिमका लागि गरिएको पूर्वतयारीबारे सम्बन्धित निकायका प्रमुखसँग जानकारी लिएका छन्।
बुधबार अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठ सहभागी थिए।
श्रेष्ठले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र सक्रिय मनसुनी वायुका कारण देशभर उच्च सतर्कता अपनाइएको जानकारी गराएकी थिइन्। छलफलमा आइतबारदेखि मौसममा सुधार आउने अनुमान पनि प्रस्तुत गरिएको थियो।
प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीका अनुसार चौबिसै घण्टा सूचना डेस्क सञ्चालनमा छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय तथा पर्यटन, यातायात र पूर्वाधार क्षेत्रका निकायसँग समन्वय भइरहेको उनले जानकारी गराए। प्राधिकरणले यस अवधिमा सतर्क रहन आग्रह गरेको छ।






