कर्णाली – लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइनले अब गति लिने भएको छ। सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो।
सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिएको हो। प्रसारण लाइन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाको १०।५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयले वीरेन्द्रनगरस्थित बुदबुदे सबस्टेशनबाट बाङ्गेसिमलसम्म निजी जग्गा पर्ने हुँदा स्थानीय सहमति आवश्यक रहेको जनाएको छ।
यसअघि उक्त खण्डमा स्थानीयले अवरोध पुर्याउँदा सिद्धपाइला–गोठीकाँडा–फिनिकाँडा हुँदै बराहतालको बड्डीचौरसम्म लाइन विस्तार गर्नुपरेको थियो। पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले वन क्षेत्रको समस्या सुल्झिएपछि पश्चिम सुर्खेतमा विद्युत् पुर्याउन सहज भएको बताए।
प्रसारण लाइन विस्तारको टुङ्गो नलाग्दा पश्चिम सुर्खेतमा विद्युतको पहुँच पुग्न सकेको थिएन।







