काठमाडौँ । नेपाल प्रहरीकी प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पूजा सिंह प्रहरी नायव महानिरीक्षक(डीआईजी)मा बढुवाका लागि सिफारिस भएकी छन् ।
बढुवा समितिको शुक्रवार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सिंहलाई बढुवा गर्न सरकारले प्राविधिकतर्फ रहेको विशिष्ट श्रेणीको दरबन्दी प्रशासनतिर सारेको हो । सञ्चार निर्देशनालयका तत्कालीन प्रमुख डिआइजी राजीव सुब्बाले राजीनामा दिएसँगै प्राविधिकतर्फ एक रिक्त दरबन्दीलाई प्रशासनतिर ल्याएर एसएसपी सिंहलाई बढुवा गरिएको हो ।
पछिल्लो समय उनी बढुवाका लागि निकै दौडधुपमा थिइन् ।
सिंह अहिले डिआइजीमा बढुवा नभएको भए एसएसपीको ५५ वर्षे उमेर हदका कारण ६ फागुनमा अवकाश पाउने थिइन् भने गृह मन्त्रालयले उनलाई डिआइजीमा बढुवा गरेसँगै उनको जागिर अवधि थप एक वर्ष लम्बिएको छ ।








