तनहुँ । ट्रकको ठक्करबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई छ लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।
मृतकका आफन्तजनले उचित क्षतिपूर्तिको माग गर्दै मङ्गलबार र जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएपछि उक्त सहमति भएको हो । ट्रकको ठक्करबाट सोमबार राति व्यासनगरपालिका–५ साँघे निवासी विकास विक र अनिल बाचे मगरको मृत्यु भएको थियो ।
जन्मदिन मनाउन तनहुँको बन्दीपुर जाने क्रममा व्यासनगरपालिका–१२ स्थित देउरालीमा लु१ख ९८३२ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको ज्यान गएको थियो । दमौलीबाट बन्दीपुरतर्फ जाँदै गरेको ग१८प ९२२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु भएका दुवै जनाको शव दमौली अस्पतालस्थित शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
सहमतिपश्चात् दुवै जनाले आफ्नो शव बुझेको प्रहरीले जनाएको छ ।







