काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेको आरोपमा एक व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ। सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा ठगी तथा लुटपाट गर्ने गरेको आरोप लागेका सुजन तामाङलाई प्रहरीले बिहीबार साँझ गोली प्रहार गरी पक्राउ गरेको हो।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-३ स्थित गाम्चामा साँझ करिब पौने ७ बजे भएको घटनामा तामाङको घुँडामुनि गोली लागेको छ। पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।
प्रारम्भिक अनुसन्धानमा तामाङले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तामाङको खोजतलासका क्रममा प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नियन्त्रणमा नआएपछि खुट्टामा गोली प्रहार गरिएको प्रहरीको भनाइ छ।
घटनामा घाइते भएका तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।





