काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले सुदूरपश्चिमको दार्चुलाको बङ्गाबगरमा केही दिनअघि भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण गरिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने माग गरेका छन् ।
आइतबार (आज) प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले भारतले अन्तर्राष्ट्रिय कानुन‚ दुई देशको छिमेकीको असल सम्बन्धको मान्यता विपरीत तटबन्ध निर्माण गरिएको र स्थानीयहरूले त्यसको विरोध गरिरहेकाले उक्त तटबन्ध निर्माणलाई तत्काल रोक्न माग गरेका हुन् ।
उनले भने, ‘बङ्गाबगरमा निर्माण हुँदै गरेको तटबन्ध निर्माण कार्य रोकिनुपर्ने माग स्थानीयहरूले राख्दा नेपाल सरकारको तर्फबाट कुनै पनि पाइला चालेको देखिएन ।’ त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि महाकाली नदीलाई नेपालतिर फर्काउन लागेका भारतका गाडीलाई ढुङ्गाले हान्नुपर्ने स्थिति आइपर्नु लज्जास्पद भएको उनले बताए ।
केही समयअघिको बाढीबाट त्यहाँको गल्फाईंमा वन कार्यालय र भूसंरक्षण कार्यालय नै महाकाली नदीको पारि पट्टी भारततर्फ परेको बताउँदै नेता रावलले त्यस बेला पनि भारतले एकतर्फी रूपमा तटबन्ध बनाउन खोजे पनि विरोध भएपछि रोकिएको उनले दाबी गरे ।
उनले भने, ‘नेपाली नागरिकको स्वाभिमान र स्वतन्त्रतामाथि आँच आउने कुरामा यदि सरकारले ध्यान नदिने हो भने त्यस्तो सरकार जनविरोधी र अलोकतान्त्रिक सरकार ठानिन्छ ।’







