जनकपुरधाम । चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले स्थानीय कुमारी बैङ्कमा ताला लगाएका छन् ।
मेयर सञ्जीव साहले चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैङ्कमा पठाउँदा पनि वितरण गर्न कुनै तदारुकता नदेखाएको भन्दै बुधबार कुमारी बैङ्कमा ताला लगाएका हुन् । उनले भंगहा नगरपालिकाको सितापुरस्थित कुमारी बैङ्कमा ताला लगाएका हुन् ।
चार महिनाअघि नै नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि बैङ्कमा रकम पठाइसकिएको बताए । उनले भने, ‘भत्ता लिन पटक–पटक ज्येष्ठ नागरिक धाइरहेका छन्, तर बैङ्कले नदिँदा बाध्य भएर ताला लगाएको छु ।’ मेयर साहले ताला लगाएपछि बैङ्कको सेवा प्रवाह ठप्प भएको छ ।







