काठमाडौँ । महानगर तथा उपमहानगरको उम्मेदवार टुङ्गो लगाउन बिहान ११ बजेबाट बस्ने भनिएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि सरेको स्रोतले जनाएको छ ।
यसअघि शुक्रबार नै टिकट टुङ्ग्याउने भन्दै कार्यसम्पादन समितिको बैठकको समय तोकिएको थियो । जुन अन्तिम अवस्थामा आज ११ बजेलाई सारिएको थियो ।
कार्यसम्पादन समितिको बैठक अगावै पार्टीभित्रै शीर्ष नेताहरू बसेर सहमति जुटाउने कोसिस भइरहेको काँग्रेस स्रोतले बतायो ।
यसका लागि हिजोदेखि नै छ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । अहिले पनि छलफल चलिरहेको स्रोतले बतायो ।
सत्तारूढ गठबन्धन दलहरूको भागबन्डापछि काँग्रेसको यो बैठकबाट १७ सिटमा टिकट बाँडफाँट हुँदै छ ।
जसमा महानगरतर्फ ३ प्रमुख र ३ उपप्रमुख र उपमहानगरतर्फ ७ प्रमुख र ४ उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाउने कार्यक्रम छ ।