काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ ।
आज (आइतबार) आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ ।
यस्तै, डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयत निगमले जनाएको छ ।
विगतमा डिजेल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजेलको लागत बढी भएको छ । यस्तै, मट्टितेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ ।
यस्तै, खाना पाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको नेपाल आयले निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार वर्तमान बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ।
यता हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले जनाएको छ ।
भारतीय आयत कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार वर्तमान मूल्य र बिक्री परिमाणको आधारमा निगमको १५ दिनको घाटा १ अर्ब १९ करोड हुने जनाएको छ ।
मूल्य स्थिरीकरण कोषमा रहेको रकम विगतको घाटा पूर्ति गर्दा सकिसकेको र मे महिनामा निगमलाई भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्न १० अर्ब भन्दा बढी रकम अपुग हुने निगमले जनाएको छ ।








