काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् ।
पार्टी निकट कर्मचारी सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समिति बैठकलाई आज (आइतबार) काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने जिकिर गरेका हुन् ।
उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए । ‘सङ्घीयतालाई उल्ट्याएर यसलाई कमजोर बनाउने प्रयास भइरहेको छ’ उनले भने, ‘आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने सङ्घर्षमा छौँ ।’
अध्यक्ष प्रचण्डले अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा सङ्गठित हुने अधिकार रहेको बताए ।
‘कर्मचारीहरुलाई पनि सङ्गठित हुने, आन्दोलित हुने राजनीतिक रुपले प्रशिक्षित हुने अधिकार छ’ उनले भने, ‘परिवर्तन विरोधीहरू कर्मचारी सङ्गठित भएको देख्न चाहँदैनन्, तर कर्मचारी सङ्गठन र पार्टीबीच जीवन्त सम्बन्ध आजको महत्त्वपूर्ण आवश्यकता हो ।’
उनले पार्टी र कर्मचारी सङ्गठनबिच राम्रो सम्बन्ध भएन भने समाजवादको यात्रा कमजोर हुने तर्क गरे । ‘साथीहरूको पार्टीसँग सम्बन्ध राम्रो भएन भन्ने गुनासो आयो’ उनले भने, ‘अब कर्मचारीबाट पार्टी केन्द्रीय समितिमा सिधै लैजाने निर्णय गर्छौँ ।’