काठमाडौँ । हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाविरुद्ध पूर्व मन्त्री सरिता गिरीले दायर गरेको सर्वोच्च अदालतले रिट खारेज गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको मङ्गलवारको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।
पूर्व मन्त्री गिरीले आयोजना अन्तर्गत निर्माण हुने प्रसारण लाइनको रुट नै परिवर्तन गर्नुपर्ने र सिराहाको लाहान नगरपालिकाको पडरियामा भइरहेको काम रोक्न माग गर्दै १६ माघ २०७५ मा रिट दायर गरेकी थिइन् ।
सर्वोच्चका तत्कालीन न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाले काम रोक्न आयोजनालाई अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशका कारण त्यस क्षेत्रमा ८ वटा टावर निर्माण हुन सकेको थिएन । मङ्गलवार सर्वोच्चले रिट नै खारेज गरिदिएकाले अब त्यस क्षेत्रमा प्रसारण लाइनको काम सुरु गर्न बाटो खुलेको छ ।