काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)का संस्थापक इमरान खानलाई स्वास्थ्य परीक्षण तथा आँखाको उपचारका लागि मध्यरातमा अस्पताल लगेर पुनः जेल फर्काइएको छ।
मंगलबार र बुधबारको मध्यरातमा कडा सुरक्षा व्यवस्थाबीच रावलपिन्डीस्थित अडियाला जेलबाट इस्लामावादको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पीआईएमएस) अस्पताल पुर्याइएका खानको विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार गरेको हो।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार जेल प्रशासनले खानलाई बुधबार बिहान करिब १:४० बजे अस्पताल पठाएको थियो। स्वास्थ्य परीक्षण र आवश्यक उपचारपछि बिहान ३:२५ बजेतिर उनलाई पुनः अडियाला जेल फर्काइएको जनाइएको छ।
अस्पतालमा उनको रक्तचाप, शरीरको तापक्रम र आँखाको परीक्षणसहित अन्य आवश्यक स्वास्थ्य जाँच गरिएको थियो। अस्पताल प्रशासनका अनुसार आँखाको उपचारमा संलग्न चिकित्सकको सिफारिसमा उनलाई आँखाभित्र एन्टी-भीईजीए औषधिको सुईसमेत दिइएको छ।
पीआईएमएस प्रशासनले उपचारका क्रममा खानको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। अस्पतालका अनुसार परीक्षणमा उनका प्रमुख स्वास्थ्य सूचक सामान्य अवस्थामा पाइएका थिए भने उपचारअघि, उपचारका क्रममा र त्यसपछिसमेत उनको अवस्था स्थिर थियो।
यसअघि नोभेम्बर ८ मा पनि जेलमै खानको स्वास्थ्य परीक्षण गरिएको थियो। पछिल्लो समय उनको रक्तचाप र आँखाको समस्यालाई लिएर परिवार, कानुन व्यवसायी तथा समर्थकहरूले स्वास्थ्य सेवाको उपलब्धताबारे चासो व्यक्त गर्दै आएका छन्।
१९ करोड बेलायती पाउन्डसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइका क्रममा खानका कानुन व्यवसायी सलमान सफदरले आफ्ना पक्षको रक्तचाप नियन्त्रणमा नरहेको विषय अदालतसमक्ष उठाएका थिए।
यसैबीच, इस्लामावाद उच्च अदालतले खान र उनकी पत्नी बुशरा बिबीसँग कानुन व्यवसायीहरूलाई भेटघाटको व्यवस्था मिलाउन जेल प्रशासनलाई निर्देशन दिएको छ।
अदालतले कानुन व्यवसायी सलमान सफदर र सरदार लतिफ खोसालाई खान दम्पतीसँग एक घण्टा भेटघाट गर्न दिन निर्देशन दिएको हो। मुद्दाको सुनुवाइ र कानुनी परामर्शका लागि भेटघाटको व्यवस्था मिलाउन अदालतले आदेश दिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२३ अगस्टदेखि जेलमा रहेका खानको स्वास्थ्य अवस्था र उपचारको विषय पछिल्लो समय पाकिस्तानमा राजनीतिक तथा कानुनी चासोको विषय बन्दै आएको छ। खान र उनको दलले आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन्।





