काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका साझा चुनौती सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच सहकार्य र समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै मन्त्री मेहताले क्षेत्रीय साझेदारीमार्फत स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएकी हुन्।
मन्त्री मेहताको सचिवालयका अनुसार कार्यक्रममा सदस्य राष्ट्रहरूबीच स्वास्थ्य क्षेत्रका विद्यमान चुनौती, तिनको समाधानका सम्भावित उपाय तथा स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धिका विषयमा छलफल भएको थियो।
छलफलमा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा हासिल गरेका ज्ञान, अनुभव र अभ्यास आदानप्रदान गर्दै साझा समस्याको समाधानका लागि क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्ने विषयमा विचार राखेका थिए।
मन्त्री मेहताले स्वास्थ्यसम्बन्धी चुनौती कुनै एक मुलुकमा मात्र सीमित नहुने भएकाले सदस्य राष्ट्रहरूबीच आपसी समझदारी र संस्थागत समन्वयलाई बलियो बनाउनुपर्नेमा विशेष जोड दिइन्।
स्वास्थ्य प्रणालीको सुदृढीकरण, क्षेत्रीय साझेदारीको प्रवर्द्धन तथा साझा स्वास्थ्य चुनौतीहरूको प्रभावकारी सम्बोधनका लागि सदस्य राष्ट्रहरूबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र मन्त्री मेहताका प्रमुख विज्ञ सल्लाहकार डा। मनोहर प्रधानको समेत सहभागिता रहेको सचिवालयले जनाएको छ।
बिमस्टेक दक्षिण तथा दक्षिणपूर्वी एसियाका सात मुलुक सम्मिलित क्षेत्रीय सहयोग संगठन हो। यसले सदस्य राष्ट्रहरूबीच प्राविधिक, आर्थिक तथा विभिन्न क्षेत्रगत सहकार्य विस्तार गर्ने उद्देश्य राखेको छ।





