काठमाडौँ । वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन गैर आवासीय नेपाली सङ्घ र सामाजिक सुरक्षा कोषबीच समझदारी भएको छ ।
श्रम रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा हस्ताक्षर भएको हो ।
एनआरएनएले झन्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्न लबिङ गर्दै आएको थियो । श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कार्य अघि बढाएको बताए ।
‘संसद्मा नेपाल ऐन संशोधन गर्ने तयारी भइरहेको छ, त्यसमा विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी वैदेशिक रोजगार ऐन परिमार्जन हुँदै छ‚’ सचिव अर्यालले भने, ‘कोषमा विदेशमा गएका कामदारलाई हेर्ने छुट्टै युनिट गठन हुनेछ ।’
कार्यक्रममा एनआरएनका उपाध्यक्ष समेत रहेका वैदेशिक रोजगार राहत कोष समितिका संयोजक आर के शर्माले विदेशमा रहेका नेपालीहरू जीवनभर विदेशमा रहे पनि उनीहरूको सुरक्षाका लागि भने कुनै व्यवस्था नहुँदा उनीहरू समस्यामा पर्ने गरेको बताए ।
उनीहरूको जीवनभरको कमाइ अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा समेट्न आग्रह गरे ।