काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार मानिएका लिभरपुल र चेल्सी पराजित हुँदा टोटेनह्यामले भने सानदार पुनरागमन जित निकालेको छ।
चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४–१ को फराकिलो अन्तरले पराजित हुँदा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक–एक गोल गरेका थिए।
रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा चेल्सीले फराकिलो हार भोगेको हो। चेल्सीका लागि माटेओ कोभासिसले एक गोल फर्काएका थिए। त्यस्तै, शनिबार नै भएको अर्को खेलमा लिभरपुल भने घरेलु मैदानमै लिड्स युनाइटेडसँग २–१ ले स्तब्ध बन्यो।
लिड्सलाई महत्त्वपूर्ण जित दिलाउन रोड्रिगो मोरेनो र क्राइसेन्सिओ समरभिलले गोल गरे। घरेलु समर्थकमाझ लिभरपुलका मोहमद सलाहले एक गोल फर्काएका थिए।
महत्त्वपूर्ण खेलमा टोटनह्यामले भने सानदार पुनरागमन गर्दै जित हासिल गर्यो। दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै बर्नमाउथलाई ३–२ ले पराजित गर्न टोटेनह्याम सफल रह्यो।
त्यसअघि के मुरले दुई गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए। तर खेलमा फर्किएको टोटनहमका लागि राएन सेसेगोन, बेन डेभिस र रोड्रिगो बेन्टानकुरले गोल गरे। बेन्टानकुरले इन्जुरी टाइममा विजयी गोल गरेका थिए।
त्यस्तै, न्युक्यासल युनाइटेडले एस्टन भिल्लामाथि ४–० को जित निकाल्यो। घरेलु मैदान न्युकासलललाई जित दिलाउन कलुम विल्सनले दुई तथा जोएलिन्टन र मानुएल अल्मिरोनले एक–एक गोल गरे। त्यस्तै, फुलह्याम र एभर्टनले गोलरहित बराबरी खेल्दा ब्रेन्टफोर्ड र वल्भसले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडे।
शनिवारको खेलपछि चेल्सी १२ खेलबाट २१ अङ्कसहित चौथो स्थानमा रहँदा ब्राइटन १२ खेलबाट १८ अङ्क जोडेर आठौँ स्थानमा उक्लिएको छ। त्यस्तै, लिभरपुल १२ खेलबाट १६ अङ्कसहित नवौँ स्थानमा रहँदा लिड्स १२ खेलबाट १२ अङ्क जोडेर १५औँ स्थानमा उक्लिन सफल रह्यो।
टोटेनह्याम भने जितपछि १३ खेलबाट २६ अङ्क जोडेर तेस्रो स्थानमा कायम रह्यो। न्युक्यासल युनाइटेड १३ खेलबाट २४ अङ्क जोडेर चौथो स्थानमा छ।







