काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्किङ प्रणाली भित्र तरलतामा सुधार आइरहेको बताएका छन् । उनले अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको समेत जानकारी दिए ।
नेपाल बैंकर्स सङ्घको वार्षिक साधारण सभाका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो जानकारी गराएका हुन् । उनले वित्तीय क्षेत्र अब ट्रयाकमा आएको बताए । नेपालको अर्थतन्त्रमा संरचनात्मक समस्या भएको भन्दै उनले मुख्य ड्राइभर रेमिट्यान्स रहेको उल्लेख गरे । यसबाट सिफ्ट हुनुपर्ने समेत उनको भनाइ छ ।
गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै उनले त्यसमा सुधार गरिएको जानकारी दिए । अहिले स्थायी तरलता, सुविधा आउट स्ट्यान्डिङ ५ अर्बमा झरेको भन्दै उनले साढे ८ प्रतिशतको अन्तरबैंक दर ७।०८ प्रतिशतमा झरेको समेत बताए । यसले बजारमा तरलता भित्रभित्र सुध्रँदै गएको सङ्केत गर्ने उनको भनाइ छ ।
यसैबीच बैकर्स सङ्घको साधारणसभाले कार्यसमिति सदस्यमा सन्तोष कोइराला र दीपक कुमार देको कार्यकाल दोहोर्याउने निर्णय गरेको छ । रिक्त एक पदमा एभरेस्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई चयन गरेको छ ।







