काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन्।
मुख्यमन्त्री लीला गिरीले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरा, नेकपा एमालेका केन्द्रीय सदस्यहरू भुमिश्वर ढकाल र चेतनारायण आचार्यलाई मन्त्री बनाउन लागेका हुन्।
अर्को एक दलका सांसदलाई पनि मन्त्री बनाउने तयारी रहेको संयुक्त बैठकमा सहभागी एक सदस्यले बताए।
‘मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय भएको छ। एमाले र माओवादी केन्द्रबाट बन्ने मन्त्रीहरूको टुङ्गो लागिसकेको भएपनि साना दलबाट एक जना मन्त्री बन्दैछन्। तर को हो भन्ने टुङ्गो लागेको छैन ।
बिहीबार नै गठन हुने पाँच सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीको समेत दाबी गरेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महरा आन्तरिक मामिला तथा कानून मन्त्री, भुमिश्वर ढकाल भौतिक पूर्वाधार मन्त्री र चेतनारायण आचार्य ग्रामीण तथा शहरी विकास मन्त्री बन्न लागेका हुन्।
माओवादी केन्द्रले अर्थमन्त्रीमा दाबी गरिरहेको हुँदा अन्तिम निर्णय गर्न भने बाँकी नै रहेको ती सदस्यले बताए।
यसअघि सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालयको संख्या घटाउने सहमति भएको थियो।
मुख्यमन्त्री कुलप्रसाद केसीले सत्ता टिकाउने नाममा मन्त्रालयको संख्या बढाएर १७ पुर्याएका थिए।
नयाँ बन्ने सरकारले ती मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाउने गरी छलफल गरेको छ।
बैठकमा सहभागी एक सदस्यका अनुसार एमालेले ९ वटा मात्रै मन्त्रालय बनाउने प्रस्ताव गरेपनि सत्ता गठबन्धनका अन्य दलहरूले नमानेपछि ११ बनाउने सहमति भएको ती नेताले बताए।
प्रदेश सरकारलाई सातवटा राजनीतिक दल र दुई जना स्वतन्त्रबाट निर्वाचित सांसदको समर्थन रहने भएपछि सरकार बचाउनकै लागि भएपनि मन्त्रालयको संख्या ११ भन्दा कम गर्न कठिन देखिएको छ।
यसअघि शीर्ष नेताहरूको बैठकले मुख्यमन्त्री एमालेबाट बनाउने भएपछि माओवादी केन्द्रलाई सभामुख तथा राप्रपालाई उपसभामुख दिने सहमति भएको थियो। माओवादी केन्द्रबाट सभामुख को बन्ने भन्ने अझै निर्णय नभए पनि राप्रपाकी मेनुका खाँण केसी उपसभामुख बन्ने पक्का भएको छ।







