काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको बताएका छन्। त्यसका लागि आफूले वैचारिक छलफल चलाउन खोज्दा पार्टीभित्रैबाट साथ नपाएको उनले गुनासो गरेका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसको मङ्गलवार काठमाडौँमा सुरु भएको नीति अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्रैबाट बीपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरे ।
‘आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै काँग्रेसले अन्याय गर्नु हो’, महामन्त्री थापाले भने, ‘आज नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरूले काम नपाउने चुनौती छ । त्यसको समाधान बीपी कोइरालाको भनाइ खोजेर गर्न सकिँदैन । हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्छ ।’







