काठमाडौँ । करिब डेढ महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा बिहीबारदेखि पुनः उत्पादन सुरु भएको छ।
करिब छ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिंकर उत्पादन गर्ने काम बन्द गर्नुपरेको उद्योगको व्यवस्थापनले जनाएको छ।
उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरण ल्याएर जडान र मर्मतसम्भार गरी बिहीबार बिहानदेखि सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने क्लिंकर उत्पादन पुनः सुरु गरिएको हेटौँडा सिमेन्टका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।
करिब चार दशकअघिदेखि सञ्चालनमा रहेको उद्योगमा पटक-पटक प्राविधिक समस्या आएकाले उत्पादन बन्द गर्नुपर्ने बाध्यता भएको उनले बताए। अब नयाँ प्रविधिमा दीर्घकालीन रूपमा क्षमताअनुसार उत्पादन वृद्धि गर्न उद्योग व्यवस्थापनले प्रधानमन्त्री र उद्योग वाणिज्य मन्त्रीलाई ध्यानाकर्षण गराई सरकारको तर्फबाट आर्थिक रकम उपलब्ध गराउन पहल भइरहेको उनले जानकारी दिए।
अहिले उद्योगमा पर्याप्त चुनढुङ्गा र कोइला आपूर्ति भइरहेको उनले बताए। उनका अनुसार उत्पादन बन्द रहे भए पनि भण्डारणमा रहेको सिमेन्टको प्याकिङ र बिक्री वितरण नियमित रूपमा भइरहेको छ।