काभ्रे । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामा निधन भएका मुकेश कायस्थलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उनलाई सहिद घोषणा गरेको हो ।
यसअघि मुकेश ‘जिउँदो सहिद’का रूपमा परिचित हुँदै आएका थिए । मुकेशको गत बुधबार साँझ बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा मुकेश १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि अर्थात् ३२ वर्षमा मुकेशको निधन भएको हो । अघिल्लो हप्तादेखि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
जनआन्दोलनताका मुकेश बनेपाकै विद्या सागर स्कुलको कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते कायस्थलाई बनेपाको तीन दोबाटोमा बायाँ कन्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदेखि उनको होस् नखुल्लेकै (अचेत) अवस्थामै निधन भयो । उनी बोल्नसमेत सक्दैनथे भने बायाँ हात र बायाँ गोडा राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो नै थियो ।
मुकेशको बिहीबार राष्ट्रिय सम्मानसहित नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई बाबु कृष्णमानले दागबत्ती दिएका हुन् । नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाई कायस्थको शवलाई बनेपा बजार परिक्रमा गरी उग्रतिर्थेश्वर लगिएको थियो । श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बिहान ११ देखि दिउँसो २ बजेसम्म बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।
कायस्थको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेत, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, बागमती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लास्थित राजनीतिक दलका नेता–कार्यकर्ता उपस्थित थिए । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।
मुकेश परिवारको एक्ला छोरा हुन् । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका कायस्थलाई ‘जिउँदो सहिद’ भन्ने गरिँदै आइएको थियो । उनी ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहेका थिए । परिवार र स्वास्थ्यकर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही चलाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खानेकुरा खाने र ह्वीलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्दै आएको थियो ।
स्वाथ्योपचारलगायतका लागि उनको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । उनलाई २०७८ सालमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली संयोजकत्व रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरेको थियो ।
बाबा–आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारलाई आशा मरेको थिएन । तर मुकेश पाँच वर्षदेखि दुब्लाउँदै गएको, पहिलेजस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरूलाई ‘पीरमाथि पीर’ थपिँदै आएको थियो । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकै बेर भक्कानिन्थे ।
कसैले उनको नाम लिएर बोलाउँदा ‘हँ हँ, माँ’ भनेर बोल्न सक्ने मुकेश एक वर्षदेखि बोल्न सकेका थिएनन्। लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा बिरामी परेपछि पेटमा पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । बिरामी परेयता मुकेश दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्थे । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुनेसम्म गर्थे ।
मुकेशको चेत खुल्न सके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा बसेको थियो कायस्थ परिवार । दलका नेता तथा सरकारी उच्च तहका व्यक्तिले मुकेशलाई भेट्न आउँदा आश्वासन पनि नदिएका होइनन् । तर देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकामा मर्माहित थियो सो परिवार ।
आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले उक्त परिवारको बैंकको सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो । परिवारका अनुसार पछिल्लो वर्ष मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे निगरानी गरिरहेका थिए । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय–समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो ।
दोस्रो अनआन्दोलनका क्रममा काभ्रेका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीम खोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिएका थिए । उक्त आन्दोलनमा जिल्लाका ४० घाइते भएका थिए ।