बैतडी । बैतडीमा नेपाल–भारत काव्य गोष्ठी मङ्गलवार सम्पन्न भएको छ ।
स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकले उक्त घोषणापत्र जारी गरेका हुन् ।
कार्यक्रममा उपस्थित नेपाल र भारतका कवि तथा साहित्यकारले मानस खण्ड क्षेत्रको लोक संस्कृति जगेर्नाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
घोषणापत्र जारी गर्दै डिलाशैनीका अध्यक्ष जोशीले चर्मण्यावती (चमेलिया) सभ्यताको अध्ययन एवं प्रचार–प्रसारका लागि गाउँपालिकाले भूमिका खेल्ने बताए ।
सम्मेलनले स्थानीय लोक संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीले बताए । नेपाल र भारतको कला तथा संस्कृतिमा एकरूपता रहेको र यसको जगेर्नाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उपस्थित साहित्यकारको जोड थियो ।
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलले नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध मात्रै नरहेको उल्लेख गर्दै दुवै देशको संस्कृतिको पनि सम्बन्ध रहेको बताए ।
उनले दुवै देशको विभिन्न संस्कृति मिल्ने भएकाले त्यसको संरक्षणमा जोड दिए । उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनासको रहेकाले यसको संरक्षणमा दुवै देशका नागरिक जुट्नुपर्ने उनको भनाइ थियो ।
साहित्यकार पुरनसिंह दयालले दुई देशका नागरिकको सम्बन्ध सुमधुर बनाउन चर्मण्यावती साहित्य सम्मेलन फलदायी रहने बताए । समाजसेवी महेशदत्त भट्टले चौलानी नदी सङ्कटमा पर्दै गएकाले यसको संरक्षणमा जोड दिए ।
भारतीय साहित्यकार तथा नयामुक्त अभियानका अभियन्ता डा पीताम्बर अवस्थीले गाउँपालिकाले पहिलो पटक आयोजना गरेको साहित्य सम्मेलनको प्रशंसा गर्दै नेपालको एउटा दुर्गम क्षेत्रमा लोक संस्कृति जगेर्नाका लागि गरिएको यो प्रयास नेपाल र भारतका अन्य क्षेत्रका लागि प्रेरणाको स्रोत भएको बताए ।
आयोजक संस्था राष्ट्रियता संरक्षण अभियानका संयोजक हेमबाबु लेखकले राष्ट्रिय भावना जागृत गराउन तथा मानस खण्ड लोक संस्कृतिको जगेर्नाका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।
सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरेका थिए ।







