काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने भएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरु भएको हो।
सोमबार उक्त इजलासमा सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ताद्वय जनकप्रसाद घिमिरे र सीताराम अर्यालले बहस गर्न लागेका हुन्।
यसअघि घिमिरेले आइतबार पनि बहस गरेका थिए। घिमिरे र महेश खत्रीले दिनभरजसो बहस गरेका थिए।
सरकारी वकिल कार्यालय काठमाडौँले यस शरणार्थी प्रकरणमा बहस गर्न सरकारी वकिलको समूह नै बनाएको छ। जसअनुसार कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसमेतले बहस गर्ने तयारी छ। उनले भने अन्तिममा बहस गर्ने तयारी गरेका हुन्।
आइतबार भएको बहसमा खत्री र घिमिरेले अदालतमा पेस गरेका प्रमाण, तथ्य नै अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा बढाउन पर्याप्त भएको जिकिर गरेका थिए।
सहन्यायाधिवक्ता न्यौपानेका अनुसार उनीहरूले समग्र मुद्दाको विषयवस्तु बहस गरेका थिए।
आज जनकप्रसाद घिमिरेले बहस गर्न सकाएपछि सीताराम अर्यालले बहस गर्नेछन्।