काठमाडौँ । वरिष्ठ गीतकार किरण खरेल प्रेमध्व प्रधान स्मृति राष्ट्रिय संगीत सम्मानबाट सम्मानित भएका छन् ।
गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको ८७ औं जन्म जयन्तीको अवसर पारेर आज गीतकार खरेलसहित तीन जना श्रष्टालाई सम्मान गरेको हो ।
ललितपुरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि संस्कृतीविद् कवि तुलसी दिवसले, वरिष्ठ गीतकार खरेललाई एक लाख नगदसहित खरेललाई राष्ट्रिय संगीत सम्मान प्रदान गरे । त्यस्तै सितार वादक उस्ताद तारावीर सिंह तुलाधरलाई नगद ७५ हजारसहित राष्ट्रिय वाद्यवादन सम्मान तथा राष्ट्रिय युवा संगीत पुरस्कारबाट नगद ५० हजार नगदसहित गायिका मिलन नेवारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय गायक प्रधानको व्यक्तित्व र गायकीको चर्चा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नेपाली संगीत क्षेत्रले मात्रै नभई विश्वले मानेका गोल्डेन भ्वाइस प्रधान राष्ट्रको अमूल्य गहना रहेको बताए ।
सो अवसरमा गायक आनन्द कार्की, मिलन नेवार, सुरज थापालगायतले स्वर्गीय प्रधानले गाएका गीत प्रस्तुत गरेका थिए ।