काठमाडौँ। पाकिस्तानको इस्लामाबाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई आफ्ना कानुन व्यवसायीसँग कम्तीमा एक घण्टा भेटघाट गर्न दिन आदेश दिएको छ।
रावलपिण्डीस्थित अदियाला जेलमा रहेका खान दम्पतीले अल कादिर ट्रस्टसम्बन्धी भ्रष्टाचार मुद्दामा पाएको सजायविरुद्ध दायर पुनरावेदनमाथि मंगलबार सुनुवाइ गर्दै अदालतले यस्तो निर्देशन दिएको हो।
मुख्य न्यायाधीश सरदार मुहम्मद सरफराज डोगर र न्यायाधीश मुहम्मद आसिफको संयुक्त इजलासले जेल प्रशासनलाई कानुनी परामर्शका लागि आवश्यक भेटघाटको व्यवस्था मिलाउन आदेश दिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अदालतले वरिष्ठ अधिवक्ता सरदार लतिफ खोसा र ब्यारिस्टर सलमान सफदरलाई आफ्ना पक्षसँग भेट्न अनुमति दिएको छ। पुनरावेदनको सुनुवाइ अघि बढाउन कानुन व्यवसायीले सम्बन्धित पक्षबाट आवश्यक निर्देशन लिनुपर्ने भएकाले भेटघाटको व्यवस्था मिलाइएको हो।





