काठमाडौँ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको अदालतमा विचाराधीन रहेको मुद्दा सरकारले फिर्ता लिएकोप्रति नेपाल प्राध्यापक सङ्घ र नेपाल प्रगतिशील प्राध्यापक सङ्घले आपत्ति जनाएका छन् ।
सङ्घ र सङ्गठनले प्रेस विज्ञप्ति जारी गरेर कानूनी व्यवस्थाअनुसार पीडितलाई यथाशीघ्र न्याय दिनु र पीडकलाई कारबाहीको दायरामा ल्याउनेको सट्टा विचाराधीन मुद्दा फिर्ता लिएकोप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दुवै सङ्घ सङ्गठनले उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय परिसरभित्रै आपराधिक मनोवृत्ति भएको समूहले भौतिक आक्रमण गरेपछि पीडितले न्यायका लागि अदालतमा सप्रमाण किटानी जारी दिएको र मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा मुद्दा फिर्ता दुखद भएको जनाएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको मुद्दा फिर्ताको निर्णय रद्द गर्दै न्यायिक प्रक्रियालाई यथाशीघ्र अगाडी बढाएर पीडित प्रेमबहादुर चलाउनेलाई न्यायको महसुस गराउँदै पीडकलाई कानूनअनुसार कारवाहीको दायरमा ल्याउन सङ्घका अध्यक्ष प्रा.डा.रमेशकुमार जोशी र महासचिव सह प्रा.नरेन्द्रप्रसाद सिवाकोटी तथा सङ्गठनका अध्यक्ष बेदराज केसी र महासचिव डा।पद्मप्रसाद खतिवडाले माग गरेका छन् ।

