मुगु । सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने सरकारको मूल नारालाई चुनौती दिँदै अझै पनि गाउँघरमा प्रवाह हुने सेवाहरू प्रभावकारी बन्न सकेका छैनन् । साना तिना समस्याले पनि ठुला समस्या खडा गरिदिँदा दुर्गम भेगका जनताले पाउने सास्ती घटेको छैन ।
मुगु जिल्लाको उत्तर पूर्वी भेगमा पर्ने मुगुम कामारोङ्ग गाउँपालिकामा रहेका १,२,३,४ वडा कार्यालयमा इन्टरनेट सेवा नहुँदा नागरिकहरूले जन्म,मृत्यु,बसाइसराइ सेवा लिन १ दिन पैदल हिँडेर पालिकामा रहेको संयुक्त वडा कार्यालयमा जानु पर्ने बाध्यता रहेको छ ।
मुगुम कामारोङ्ग गाउँपालिका क्षेत्रफलले निकै ठूलो भएपनि जनसङ्ख्याको हिसाब थोरै रहेको ९ वडा भएको एक पालिका हो । कष्टकर भूगोलका कारण एक बस्तीबाट अर्को बस्ती पुग्न ३ देखि ५ घण्टा सम्म हिँड्नु पर्ने हुन्छ ।
पछिल्लो समयमा सरकारले पञ्जिकाधिकारीबाट हुने जन्म,मृत्यु,सवाई सराई,सामाजिक सुरक्षा भत्ता समेत अनलाइनमार्फत दर्ताको व्यवस्था गरेको हुँदा मुख्यतः वडामा सचिव नबस्ने, त्यसमाथि इन्टरनेटको सुविधा नहुँदा सामान्य सेवा लिनको लागि पनि २ देखि ५ घण्टा हिँडेर पालिकबाट सेवा लिनु पर्ने बाध्यता रहेको समाजसेवी गुरुस्याङ्गा लामाले बताए ।
वडा कार्यालयमा नत बत्ती छ नत इन्टरनेट नै । दैनिक एक दिन हिँडेर सामान्य सिफारिस लिनको लागि पालिका कार्यालय पुलमा पुग्नु पर्ने बाध्य हुँदा नागरिकहरूले निकै दुःख पाउने गरेको मुगमकामारो गाउँपालिका वडा नम्र १का वडा अध्यक्ष कामाटुन्डुप लामाले बताए ।
सन् २०२४ सम्म पञ्जिकरण सम्बन्धी बसै सेवालाई अनलाइनबाट सञ्चालन गर्ने नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार मुगु कामारोङ्ग गाउँपालिकाका १ देखि ९ वडा सम्मका सबै मृत्यु ,जन्म,बसाइसराइ लगायतका सेवाहरू अनलाइनबाट दर्ता सुरु गरिएका छन ।
पालिकाबाट प्रत्येक वडा कार्यालयमा इन्टरनेटको सेवा बारे पहल गर्दा वडाको बजेट भन्दा बढी खर्च लाग्ने भएकोले वडा कार्यालयमा इन्टरनेट,विद्युतको सेवा नहुँदा पालिकाको केन्द्र रहेको पुलमा अवस्थित संयुक्त वडा कार्यालयबाट जनतालाई सेवा दिने गरेको मुगु कामारोङ्ग गाउँपालिका १ र २ वडाका वडा सचिव ईश्वर सिंहले बताए ।
मुगुम कामरोङ्ग भूगोल र भौतिक पूर्वाधार ठूलो क्षेत्र रहेको पालिका हो । १ देखि ४ वडासम्म इन्टरनेट नहुँदा निकै समस्या भएको छ भने ५ देखि ९ वडासम्म इन्टरनेट सेवा उपलब्ध छ । इन्टरनेट सेवा नभएका वडा र पालिका भित्र रहेका स्वास्थ्य संस्था,विद्यालयमा समेत इन्टरनेट सेवा प्रवाह गर्नको लागि आ.व ०८०.०८१को नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरिएको हुँदा अवको ३/४ महिना भित्र सबै वडाहरूमा इन्टरनेट सेवा पुर्याउने गरी कार्य भइरहेको मुगु कामारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले जानकारी दिए ।







