काठमाडौँ । वैदेशिक रोजगारीका लागि अहिलेसम्मकै सबैभन्दा धेरै जनाले श्रम स्वीकृति लिएका छन्।
चालु आर्थिक वर्षको असार १६ गतेसम्म सात लाख ४० हजारभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागले आर्थिक वर्ष २०५०-५१ यताको वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएको छ।
वैदेशिक रोजगार विभागले तथ्याङ्क राख्न सुरु गरेको वर्ष आर्थिक वर्ष २०५०-५१ मा तीन हजार ६०५ जनाले श्रम स्वीकृति लिएका थिए।
आर्थिक वर्ष २०५१/५२ मा दुई हजार १५९ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ।
कोरोनाको असर कम हुँदै गएपछि आर्थिक वर्ष २०७८-७९ यता वैदेशिक रोजगारीमा जानेको संख्या फेरि बढ्न थालेको हो। यो वर्ष ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए।
अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाखभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन्।
निर्देशक सुवेदीका अनुसार वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुकहरू गइरहेका छन्। पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानिया जस्ता थुप्रै युरोपेली मुलुकमा जाने गरेका छन्।
श्रम स्वीकृति लिएर प्रत्येक महिना ६० हजारभन्दा बढी युवाहरू विभिन्न मुलुकमा पुगेको तथ्याङ्क छ। तथ्यांकअनुसार गत फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ८४५ जना गएको देखिन्छ। यसमध्ये युरोप जानेको संख्या धेरै छ।
चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार ४७८ जना युवाले श्रम स्वीकृति लिएका छन्। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।
वैशाख महिनामा ५४ हजारभन्दा बढी युवाहरू बाहिरिएका छन्। वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार ४५७ जना रोजगारीका लागि गएका छन्।
यो महिना पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन्। ३३ हजार ४४० जनाले नयाँ श्रम स्वीकृति लिएर बिदेसिएको तथ्याङ्क छ। बिदेसिनेमा ४९ हजार ५०९ जना पुरुष र चार हजार ९४८ जना महिला छन्।
पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको मन्त्रालयको भनाइ छ।
त्यस्तै सीपयुक्त जनशक्ति विकास गरी रोजगारी र स्वरोजगार वृद्धि गर्ने योजना छ। आन्तरिक रोजगारी पनि प्रवर्द्धन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।







