काठमाडौँ । भारतले काठमाडौँ-रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत १७-२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण हुने भनिएको यो प्रतिवेदनको मस्यौदा नेपालको रायका लागि भन्दै हस्तान्तरण गरेको हो ।
प्रतिवेदन तयार भए पनि त्यसलाई अन्तिम रूप दिनुअघि भारतले नेपालको राय मागेको हो । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागले यो प्रतिवेदन अध्ययन गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका अनुसार प्रतिवेदन अध्ययनपछि विभिन्न विषयमा नेपालले आफ्ना राय र प्रतिक्रियाहरू दिने छ । त्यसका आधारमा प्रतिवेदनले अन्तिम रूपमा पाउनेछ । नेपाललाई भारतले फाइनल प्रतिवेदन हस्तान्तरण गर्नेछ ।
भारतले सो प्रतिवेदन दिएपछि भारत भ्रमणका समयमा नै रेलमार्गको निर्माण अघि बढाउन भारतसँग आग्रह गर्ने तयारी थियो । काठमाडौँ-रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे १८ महिनाभित्र यो काम सकाउने गरी २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो ।