काठमाडौँ । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले ब्याटिङ रोजे पछि पाकिस्तानको ए ले पहिला बलिङ गर्दैछ ।
पाकिस्तानको ए टोली रहेता पनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् ।
पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत रहेका छन् । नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रँदै छ ।
गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।
जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको नेपाल र पाकिस्तान ए रहेका छन् ।
यस प्रतियोगितामा ६ टोली सहभागिता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।
सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।